काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले उनीहरुविरुद्ध पक्राउ अनुमति दिएको हो।
पक्राउ पुर्जी जारी हुनेहरुमा लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ छन्। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको छ।
यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो।
जोशी हाल कास्कीमा थुनामा छन् भने उनलाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार मात्रै म्याद थप भएको छ। उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ।



