काठमाडौं। निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको सो नागरिकता प्राप्त गर्नुपूर्व साविकको नेपाली नागरिकता त्याग गरिएको विवरण माग गरेको छ।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन २०८१ अघि मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गृहमन्त्रालयलाई जिल्ला प्रसाशन कार्यालयमार्फत त्यस्ता व्यक्तिको विवरण उपलब्ध गराइदिन भनेको हो। मतदाता अद्यावधिक गर्दा आयोगले त्यस्ता व्यक्तिको नामावली मतादाता नामावलीबाट हटाउने छ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले आयोगको बिहीबार (आज) बसेको बैठकले स्थानीय तह उपनिर्वाचन २०८१ को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गर्ने निणर्य गरेको जानकारी दिए।
मतदाता नामावली अद्यावधिक ऐन २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
नागरिकता ऐन २०६३ (संसोधनसहित)को दफा ७ (क) को उपदफा (२) को खण्ड (ख) मा गैर आवासीय नागरिकता लिन चाहने व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ।
आयोगले सोही व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा ५ कार्तिक भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ।



