मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

होसियार ! सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि आउँदैछ कडा कानुन

होसियार ! सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि आउँदैछ कडा कानुन

images
२०८१ कार्तिक १ गते, बिहिवार
२०८१ कार्तिक १ गते, बिहिवार
  • काठमाडौं । मन्त्रिपरिषदमा दर्ता भएको सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक मस्यौदा २०८० माथि वहस सुरु भएको छ । अभियन्ताहरुले विधेयकमा उल्लेख भएका प्रावधानहरुमाथि गम्भीर रुपमा समीक्षा सुरु गरिसकेका छन् ।  विधेयकका सम्बन्धमा नेपालको संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन, सिद्धान्त तथा मापदण्ड र सरोकारवालासँगको छलफलका आधारमा विश्लेषण पत्र तयार समेत गरिएको छ । 

    images

    प्रस्तावित विधेयकले सामाजिक सञ्जाल व्यवस्थापन परिषद् र केन्द्रको स्थापना, प्लाटफर्म दर्ता, र सामाजिक सञ्जाल प्लाटफर्महरूमा प्रतिवन्धित कार्यहरूमा सजायलगायतको व्यवस्था छ । विधेयकमा रहेका सामाजिक सञ्जाल सामग्रीसम्बन्धी अस्पष्ट निषेधात्मक व्यवस्था, फौजदारी गाली बेइज्जतीको व्यवस्था, प्लाटफर्म दर्ता, सामग्री हटाउने र बेनामी पहिचानको अपराधिकरणसम्बन्धी व्यवस्थाहरूको विश्लेषण पत्रमा समीक्षा गरिएको छ ।

    images

    विचार तथा अभिव्यक्ति स्वतन्त्रता र अन्य मौलिक अधिकारमा असर नपर्ने गरी सामाजिक सञ्जालको नियमनका उपायहरू विश्लेषण पत्रले सिफारिस गरेको छ ।

    ‘विधेयकको दफा २० (१)(क) मा अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती वा हेट स्पिच मानिने कार्यलाई निषेध गरेको छ ।

    अपमानजनक शब्द, होच्याउनेजस्ता शब्द निकै व्यापक र खुला शब्द हुन्, जसले सरकारलाई नागरिकको वैयक्तिक स्वतन्त्रतालाई संकुचित गर्न स्वेच्छाचारी अधिकार प्रदान गर्छ,’ विश्लेषण पत्रमा भनिएको छ, ‘यस प्रावधानले नागरिकले वैध रूपमा सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विचार तथा अभिव्यक्तिहरूलाई आपत्तिजनक वा अपमानजनक शब्दको रूपमा व्याख्या गर्न सकिन्छ ।विशेष गरेर सरकार वा सरकारी नीतिविरुद्ध आउने अभिव्यक्तिलाई रोक लगाउन यस प्रावधानको दुरुपयोग हुन सक्ने सम्भावना बढेर जान्छ ।’

    विधेयकको दफा २० (१) (ख)ले ‘मिथ्या’ र ‘भ्रामक’ सूचनामा गरेको निषेध पनि अभिव्यक्तिको स्वतन्त्रताको विरुद्ध रहेको विश्लेषण पत्रमा भनिएको छ । यस्ता कानुनले सरकारलाई स्वेच्छाचारी हुने मौका दिने र विद्यमान लोकतान्त्रिक मान्यतालाई नष्ट गर्ने तर वास्तविक मिथ्या र भ्रामक सूचनाको प्रसारलाई भने रोक लगाउन प्रभावकारी नहुने विश्लेषण पत्रमा उल्लेख छ ।

    त्यस्तै, दफा २० (१)का निषेधहरू उल्लंघन गर्ने सामग्री जानीजानी पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ ब्रोडकास्ट, ट्याग, मेन्सन, सब्सक्राइब र कमेन्ट गरेमा सजायको भागीदार हुने व्यवस्थामा पनि विश्लेषण पत्रमा टिप्पणी गरिएको छ ।

    दफा १७ को सामाजिक सञ्जालबाट सामग्री हटाउने व्यवस्थामा सामग्री हटाउनु अघि अदालत वा अन्य सक्षम तथा स्वतन्त्र निकायको आदेश आवश्यक पर्ने व्यवस्था राखिनुपर्ने औंल्याइएको छ । दफा २२ (२)मा भएको ‘आफ्नो वास्तविक पहिचान लुकाएर’ वाक्यांशलाई हटाउनुपर्ने भनिएको छ ।

    यस दफामा प्रयोगकर्ताले आफ्नो छद्म नाममा सामाजिक सञ्जालमा आईडी वा पेज वा ग्रुप खोल्न वा प्रयोग गर्न निषेध गरेको छ । यसले वैध उद्देश्यका साथ खोलिएका खाताहरू, कसैको समर्थनका लागि खुलेका पेज वा संवेदनशील मुद्दाहरूमा छलफल गर्नका लागि खोलिएका फोरम एवं मनोरञ्जनको उद्देश्यले खोलिएका ट्रोल पेज, फ्यान पेजलगायतका आईडी, पेज, ग्रुपहरूमा बन्देज लाग्ने भएको यो व्यवस्था उचित नभएको स्पष्ट पारिएको छ ।

    विधेयकमा प्रस्ताव गरिएका धेरै प्रावधानले नागरिकलाई नेपालको संविधान तथा अन्तर्राष्ट्रिय कानुनद्वारा प्रदत्त वैयक्तिक स्वतन्त्रता तथा अधिकारमा प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव पार्ने विश्लेषण पत्रमा उल्लेख छ ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend