काठमाडौं। ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन्।
प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख रहेकी शाहीमाथि आफ्नै कार्यालयमा व्यवसायीसँगको ‘हनी ट्रयाप’ प्रकरणमा गिरोहसँग आर्थिक लेनदेनमा मुछिएको आरोप लाग्दै आएको छ। उनलाई निलम्वन गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
सो क्रममा ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो। परिसरको आग्रहपछि अदालतले शाही विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी भएसँगै उनी फरार भएको ललितपुर प्रहरी स्रोत बताउँछ।
अनुसन्धानकै क्रममा प्रहरीले शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेको छ। हमाल रकम लेनदेनहुँदा बैंकसम्म पनि सँगै गएको अनुसन्धानबाट खुलेको छ। एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि शाहीलाई निलम्बन गरिएको थियो।
व्यवसायीसँग ३० लाख रुपैयाँ असुली गरेको घटनाबारे छानबिन गर्न बनेको समितिको सिफारिसको आधारमा चालक हमाल र शाहीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको हो।
व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा छानबिन गर्न ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनेको थियो।
छानबिन समितिले इन्सपेक्टर शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै रायसहितको प्रतिवेदन ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई दिएको थियो भने घटनामा शाहीको भूमिका शंकास्पद देखिएपछि समितिले निलम्बन गर्न सिफारिससमेत गरेको थियो। सो प्रतिवेदन ललितपुर प्रहरीले उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको छ।
गत असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए ।



