काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको भन्दै सरकार अहिले नढल्ने बताएका छन्।
बुधबार ६९औ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार खरानीको डल्लो नभएको भन्दै नढल्ने बताएका हुन्।
ओलीले अहिलेको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार पूरै अवधि चल्ने पनि स्पष्ट पारे। यी दुई दलले ठूलो योगदान र इतिहास बोकेको भन्दै ओलीले कांग्रेस, एमाले मिलेरै देशलाई परिवर्तन गर्ने बताए।
आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भन्दै प्रधानमन्त्री ओलीले आगामी आमनिर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुनेसमेत बताए ।
‘मैले १ वर्ष ९ महिना र त्यसपछि शेरबहादुरजीलाई भनेर मैले पहिल्यै भनेको छु, त्यसपछि यो सरकार आफैँ फेरिन्छ, उहाँले चुनावसम्म सरकार चलाउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने।



