नेपाल मोबाइल ब्यवसायी महासंघको हेटौंडामा बैशाख २६ र २७ गते हुने चौंथो साधारणसभामा देशभरबाट एक हजार मोबाइल ब्यवसायी सहभागी हुँदैछन। कार्यक्रममा विभिन्न मोबाइल कम्पनी, विभिन्न एसोसरिज कम्पनी तथा उत्पादक र आयातकर्ताहरुको विशेष प्रदर्शनी हुँदैछ। यी यावत विषयमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रायोजक संयोजक रमेश घिमिरेसँग एक्सरे नेपालले गरेको कुराकानी :
यहाँहरुको साधारणसभाको मिति नजिकिंदै छ, तयारी कस्तो छ?
हामी नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो राष्ट्रिय साधारणसभाको व्यापक तयारीमा छौं। केन्द्रीय समितिका अध्यक्ष लगायत पदाधिकारी हामी हेटौंडामै छौं। यहाँ देशभरबाट ब्यवसायीहरुको उत्साहजनक उपस्थिति हुँदैछ। केही केही जिल्लाबाट करिब एक सयको संख्यामा ब्यवसायी साथीहरू आउने जानकारी पाएका छौं। हेटौंडामा विभिन्न मोबाइल कम्पनी तथा एसोसरिजका उत्पादक र आयातकर्ताहरुको पनि उत्साह हामीले पाएका छौं।
देशभरबाट आउने ब्यवसायीहरुको सहभागिता कसरी सुनिश्चित हुँदैछ?
देशैभरबाट हेटौंडा आउँदै गर्नुभएका ब्यवसायी साथीहरूको उपस्थिति सुनिश्चित गर्नका लागि जिल्लाबाट प्रदेशगत रुपमा नै नामावली संकलन भएको छ। केही जिल्लाबाट अझै नामावली प्राप्त हुनेक्रम जारी छ। प्रदेशगत रुपमा नै जिल्लाका साथीहरुसँग समन्वय भैरहेको छ।
यहाँहरुको कार्यक्रममा विभिन्न मोबाइल ब्राण्ड तथा एसोसरिज कम्पनीहरुको सहभागिता हुँदैछ हैन?
हामीसँग समय छोटो भयो। हामी धेरै कम्पनीकाबिचमा पुग्न भ्याएनौं। तर पनि हामीलाई विभिन्न ब्राण्ड र एसोसरिज कम्पनीहरुबाट प्रायोजनका लागि सहयोग प्राप्त भएको छ। उहाँहरूको उपस्थिति सुनिश्चित भएसँगै अन्य धेरै कम्पनीहरुबाट चासो आएको छ। हामी उत्साहित छौं। यो उत्साह देशभर फैलनेछ।
हेटौंडामा कुनकुन मोबाइल ब्राण्ड तथा एसोसरिज कम्पनीहरुको सहभागिता हुँदैछ?
हामीसँग हेटौंडामा अहिले विभिन्न १३ वटा कम्पनीहरु प्रायोजकका रुपमा आउँदै हुनुहुन्छ। जसमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा नेपाली उत्पादनका आफ्नै ब्राण्डहरु पनि छन। साधारणसभामा स्पन्सर बनाई गोरैया मोबाइल प्रालि छ। जसले स्मार्ट फोन राभोज र किप्याड फोन लेसिया ब्राण्डलाई ब्यवसायीका बिचमा पुर्याएको छ।
यस्तै स्पन्सरकै रुपमा अर्को साओमी (एम आइ) नेपालसँग जोडिएका इम्पोर्टर हामीसँग हेटौंडामा सहभागी हुँदैछ। यसैगरी एनसेल, नेपालमा स्थापित नेपाली ब्राण्ड बीएन अर्थात बीएन ट्रेडर्स एण्ड म्यानुफ्याक्चर्स, भत्सल इम्पेक्स, अल्टिमा, माइपावर, एंकर, आरती चार्जर उद्योग, जगदम्बा मोटर्स (टीभीएस) प्रायोजक हुन भने लिडर एसोसरिज, सिभिआर, ग्रीन एसोसरिज लगायत सहयोगी भुमिकामा छन।
यहाँहरु आयोजक रहँदै गर्दा साधारणसभामा प्रायोजकहरुले पाउने भुमिका कस्तो रहन्छ?
हामीसँग धेरै कम्पनीहरुले जोडिने चाहना राख्नु भएको छ। छोटो समयका कारण चाहेर पनि हामीले सबैसँग सहकार्य गर्न पाएनौ। निकट भविष्यमा हामी अहिले छुट्नुभएका र चासो राख्नुहुने सबैसँग सहकार्य गर्न खुला छौं। जसले अहिले हामीसँग जोडिएर साथ दिनु भएको छ, ती कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु हेटौंडा आउदै हुनुहुन्छ। ती कम्पनीका स्टल हेटौंडामा राख्न हामीले तयारी गरेका छौं। उहाँहरूले देशभरबाट आउने ब्यवसायी साथीहरुलाई आफ्ना ब्राण्ड तथा उत्पादनका बारेमा जानकारी गराउन पाउनुहुनेछ। यो ब्यवसाय प्रवर्द्धनको एउटा अवसर पनि हो। हामीले कार्यक्रममा टाइटल स्पन्सरलाई सम्बोधन गर्ने अवसर पनि दिनेछौं।
अन्त्यमा साधारणसभाका बारे केही भन्नू छ?
हामी मोबाइल ब्यवसायी महासंघलाई देशब्यापी बनाउने अभियानमा अघि बढेका सिपाही हौं। हामीले संस्थालाई जन्माएर चिनाएका छौं। अझै धेरै ब्यवसायीहरुलाई हामीले जोड्नु पर्ने छ। ब्यवसायीका मुद्दालाई स्थापित गरेर अहिले देखिएका कानुनी तथा नीतिगत झमेलालाई फुकाउनु पर्ने छ। बिना कारण ब्यवसायीले दु:ख पाइरहने अवस्थालाई अन्त्य गर्नु पर्ने चुनौती हामीसँग छ। म महासंघमा आबद्ध हुन छुट्नु भएका देशभरका मोबाइल ब्यवसायीसाथीहरूलाई महासंघमा आबद्ध हुनका लागि आह्वान गर्न चाहन्छु।



