नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ। बैशाख २६ र २७ गते हेटौंडामा आयोजना हुने साधारणसभाका लागि केन्द्रीय पदाधिकारी हेटौंडा पुगेका छन। साधारणसभाका बारे महासचिव सन्तोष घिमिरेसँगको कुराकानी :
यहाँहरुको साधारणसभाको तयारी सकिएको हो?
साधारणसभाको अन्तिम तयारी भैरहेको छ। देशभरका साथीहरू हेटौंडा आउनका लागि तयार हुनुहुन्छ। महासंघका केन्द्रीय पदाधिकारी (हामी) हेटौंडा पुगिसकेका छौं।
देशभरबाट कति ब्यवसायीहरु सहभागी हुँदै हुनुहुन्छ?
देशभरबाट एक हजार बढी मोबाइल ब्यवसायी साधारणसभाका लागि हेटौंडामा आउँदै हुनुहुन्छ। जिल्लाका साथीहरूसँग प्रदेश नेतृत्व मार्फत समन्वय भैरहेको छ। ब्यवसायीलाई स्वागत गर्न हेटौंडामा बैशाख २६ गते साँझ भब्य फेलिशिप नाइट हुँदैछ। त्यसबेलासम्म उहाँहरू आइपुग्नुहुन्छ।
फेलोशिप नाइट केका लागि?
पुर्व कोशी देखि पश्चिम महाकाली र कर्णालीदेखिका साथीहरू हेटौंडा आउँदै गर्दा थाकेर आइपुग्नुहुन्छ। उहाँहरुको थकाइलाई बिर्साउन हामीले फेलोशिप नाइट आयोजना गरेका छौं। त्यसका लागि मोबाइल एसोसियसन अफ नेपाल (म्यान) मकवानपुरले सहकार्य गर्दैछ।
फेलोशिप नाइट्सँगै अरु केके हुनेछन?
बैशाख २६ गते देशभरका ब्यवसायीहरु हेटौंडा आइपुग्दै गर्दा उहाँहरुलाई हामी सांगीतिक कार्यक्रमसहित फेलोशिप नाइटमा स्वागत गर्ने तयारीमा छौं। त्यो साँझ बारा जिल्लाको पनाम ब्यान्डका कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
ब्यवसायीहरु र कम्पनीहरुका बिचमा बीटुबी छलफल पनि आयोजना हुँदै छ हैन?
हो। ब्यवसायी र उत्पादक कम्पनी र आयातकर्ता बिचमा सुमधुर सम्बन्ध कायम होस भन्ने पनि नेपाल मोबाइल ब्यवसायी महासंघको उद्देश्य हो। त्यसका लागि हामीले बीटुबी छलफल आयोजना गर्दैछौं।
कति कम्पनीहरुको सहभागिता हुने अपेक्षा छ हेटौंडामा?
हामीसँग हेटौंडामा अहिले विभिन्न १४ वटा कम्पनीहरु प्रायोजक र सहयोगीका रुपमा आउँदै हुनुहुन्छ। जसमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा नेपाली उत्पादनका आफ्नै ब्राण्डहरु पनि छन। साधारणसभामा टाइटल स्पन्सर बनाई गोरैया मोबाइल प्रालि छ। जसले स्मार्ट फोन राभोज र किप्याड फोन लेसिया ब्राण्डलाई ब्यवसायीका बिचमा पुर्याएको छ।
अर्को साओमी (एम आइ) नेपालसँग जोडिएका इम्पोर्टर हामीसँग हेटौंडामा सहभागी हुँदैछ। यसैगरी एनसेल, नेपालमा स्थापित नेपाली ब्राण्ड बीएन अर्थात बीएन ट्रेडर्स एण्ड म्यानुफ्याक्चर्स, भत्सल इम्पेक्स, अल्टिमा, माइपावर, एंकर, आरती चार्जर उद्योग, जगदम्बा मोटर्स (टीभीएस) प्रायोजक हुन भने लिडर एसोसरिज, क्यामिओ इन्टरनेशनल (रिभरसङ), सिभिआर, ग्रीन एसोसरिज लगायत सहयोगी भुमिकामा छन। उहाँहरुमध्ये कार्यक्रम स्थलमा प्रायोजकका स्टल रहनेछन।
२७ गते चाहिँ साधारणसभाको मुख्य कार्यक्रम हो?
२७ गते साधारणसभा उद्घाटन हुन्छ। त्यसदिन ब्यवसायीका समस्या र मुद्दामा घनिभुत छलफल हुन्छ। साधारणसभामा आगामी योजनाका सन्दर्भमासमेत व्यापक छलफल हुन्छ। र त्यसै दिन साधारणसभाको समापन हुनेछ। म महासंघमा आबद्ध देशभरका सबै ब्यवसायी साथीहरूलाई साधारणसभामा हेटौंडाबाटै पुन: निमन्त्रणा गर्न चाहन्छु।



