काठमाडौ। गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायबाट काम गर्ने क्रममा कहिलेकाँही कमीकमजोरी हुँदा त्यसका आलोचना सरकारले खेप्नु पर्ने हुँदा सचेत भएर काम गर्न आग्रह गरेका छन्।
६९औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो आग्रह गरेका हुन्।
‘नेपाल प्रहरीसहितका सुरक्षा निकायहरुले परिश्रमका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्, कहिले काँही सुरक्षा निकायबाट हुने कमी कमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ, प्रहरी, कर्मचारी र विभागीय मन्त्रीले आलोचना बोक्नुपर्ने अवस्था सिर्जना हुन्छ,तसर्थ थप सचेतना, सतर्कता र व्यवसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु,’ गृहमन्त्री लेखकले भने।
सो क्रममा गृहमन्त्री लेखकले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको पनि बताए। गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएकोसमेत उनले बताए।
प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र बर्षौ बर्षदेखिका अपेक्षाहरू पुरा हुने उनको भनाइ छ।
लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको सरकारले उच्च मूल्याङ्कन गर्नेसमेत बताए।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा गठन भएको सरकारले संक्रमणकालीन न्याय सम्बन्धी कानुनलाई पूणर्ता दिइएको छ, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानविन सम्बन्धी आयोग गठन हुने छ,’ उनले भने, ‘यसले द्धन्द्धको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरुको परिवारलाई पनि पीडित सरह परिपुर्ण दिने व्यवस्था गरिएको छ, द्धन्द्धको बेलामा घाइते तथा अपाङ्ग हुनु भएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।’
राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतीका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने बिश्वाससमेत गृहमन्त्री लेखकले व्यक्त गरे।
मुलुकभर महिला तथा बाल-बालिकामाथि हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव छुवाछुत लगायतका अपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशनसमेत दिएका छन्।



