काठमाडौं। कंचनपुरबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस डडेलधुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
कंचनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राती साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा दुर्घटना भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन।
मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए। दुर्घटनामा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा पुर्चौंडी ७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर ४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल १ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा ५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर ५ की ६५ वर्षीया धनमती साउँद छन्।
यस्तै, पुर्चौंडी-८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ।
अन्य घाइतेहरूको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी बताउँछ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।



