काठमाडौं। भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको भनिएको व्यथितिबिरुद्ध अस्पताल परिसरमा प्रदर्शन भएको छ।
प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकाबिरुद्ध केही समययता निरन्तर बिरोध प्रदर्शन हुँदै आइरहेको छ। अस्पतालमा कार्यरत कर्मचारी र स्थानीयले बुधबारसमेत कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अस्पतालमा व्यथिति बढाएको र भ्रष्टाचार तथा अनियमितता गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारी लगायतमा श्रेष्ठले आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन्।
आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैह्र कानुनी तरिकाले बरखास्त गरिएका चिकित्सकहरुलाई अविलम्ब पुर्नबहाली गर, मुटु, कलेजो, मृगौला, फोक्सो तथा नशासम्वन्धि सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पताल भित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गर लगायतका नारासहितका व्यानर बोकेर प्रदर्शन गरेका थिए।
आन्दोलनमा सहभागी जनक शर्मा लामिछानेले सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको भए पनि केन्द्रमा मृगौला सम्बन्धी बाहेक अरु सेवाबाट बञ्चीत गराएको गुनासो गरे।
उनले सरकारबाट प्रत्यारोपणका लागि पाउने सेवा सुविधा अस्पतालले खर्च गरेको, उपकरण र जनशक्ति पनि उपलब्ध भएको तर सबै व्यस्था हुँदा पनि सेवा सञ्चालन भने नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको बताए।
‘सरकारले केन्द्रलाई ४–५ वटा अंगको लागि प्रत्यारोपणको अनुमति दिएको रहेछ, जसमा मृगौला रोग, मुटु रोग, फोक्सो लगायतका महत्वपूर्ण प्रत्यारोपण गर्ने लगायत सम्पूर्ण उपचार गर्ने सुविधा दिएको छ, त्यसको लागि आवश्यक श्रोत र साधन उपलब्ध पनि रहेछ, तर अहिलेसम्म मृगौलाको मात्रै प्रत्यारोपण भइरहेको र अरु सबै सेवा सञ्चालन नभएको देखियो,’ उनले अघि भने,‘सरकारबाट पाउने सेवा सुविधा खर्च भएको, उपकरण र जनशक्ति पनि रहेको तर सबै हुँदा पनि काम नभएकाले हामी सेवा सञ्चालन गर्नका लागि आन्दोलनमा आउन बाध्य भयौँ।’
केन्द्रमा ६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा. श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए।
कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ।
विशेषगरी अस्पतालका विशेषज्ञ डाक्टरहरुको मनोबल गिरेको, ब्यथिति भित्रिएको र उपकरणहरु थन्क्याएर विरामीको उपचार प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन समेत गर्दै आइरहेका छन्।
६० बर्ष उमेरहद कटेका कार्यकारी निर्देशक श्रेष्ठविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। उमेर हद लम्ब्याउने गरी सरकारले गरेको गठन आदेश संशोधन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो। पछिल्लो पटक तेस्रो कार्यकालका लागि डा. श्रेष्ठ ६ असोज २०७८ असोजमा मानवअंग प्रत्यारोपण केन्द्रको निर्देशकमा पुनः नियुक्त भएका थिए।
तर नियुक्ति र उनका क्रियाकलाप एकाधिकारपूर्ण भएको भन्दै अस्पतालका कर्मचारी मात्र नभइ स्थानीयबासी समेत रुष्ट छन्। स्थानीयले पटक पटक आन्दोलन गर्दै आइरहेका छन्।



