मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष तथा साधारणसभा अन्तर्गतको शान्ति पदयात्रा उपसमितिका संयोजक नवराज चौंलागाईसँगको कुराकानी :
साधारणसभाको तयारी कस्तो हुँदैछ?
तयारी स्थानीय स्थरमा व्यापक भैरहेको छ। देशभरबाट आउने ब्यवसायीहरुलाई बसोवासको प्रवन्ध गर्ने, कार्यक्रम स्थलको ब्यवस्थापन, खानाको ब्यवस्थापन, स्वागतका विविध कार्यक्रम, मञ्चको ब्यवस्थापन लगायतका कामको जिम्मेवारी र तयारी लगभग सकिएको छ।
कति ब्यवसायीहरुको आगमन हुँदैछ हेटौंडा साधारणसभामा?
देशभरबाट गरेर लगभग १ हजार ब्यवसायी सहभागी हुने हाम्रो अपेक्षा छ। मोबाइल ब्यवसायी महासंघ केन्द्रीय समितिबाट त्यही अनुसार हामीलाई सहकार्यका लागि अनुरोध भएको छ।
हेटौंडामा नै किन हुँदैछ साधारणसभा?
वास्तवमा हेटौंडामा साधारणसभा गर्नका लागि केन्द्रीय समितिले हामीलाई अवसर दिएकोमा हामी खुसी छौं। हेटौंडा पुर्व देखि पश्चिमसम्मका सबै ब्यवसायीलाई पायक पर्ने ठाउँ हो। सबै ब्यवसायीलाई आउनका लागि सहज हुने हुँदा हामीले नै हेटौंडामा साधारणसभा गर्न प्रस्ताव गर्यौं।
तपाईं एउटा उपसमितिको संयोजक हुनुहुन्छ, तपाईंको उपसमितिले के गर्दैछ?
हो मेरो नेतृत्वमा साधारणसभा हुनुअघि देशभरबाट सहभागी ब्यवसायीहरुको स्वागतका लागि हेटौंडामा विषेश झाँकी र स्थानीय संस्कृति झल्काउने पदयात्रा हुनेछ। पदयात्रामा नेवा संस्कृति झल्किने झाँकी, खैजेडी भजन प्रस्तुत हुनेछ। स्थानीय भजन समूहले भजनमार्फत ब्यवसायीका समस्यालाई उजागर गर्ने काम पनि हुनेछ।
पदयात्रा कहाँबाट सुरु भएर कता पुगेर टुंगिन्छ?
पदयात्रा साधारणसभा हुने दिन बैशाख २७ गते विहान ७ बजे हेटौंडाको हुप्राचौरबाट सुरु हुँदै शितलमहल चोक, पारिजात पथ, स्कुलरोड, बुद्ध चोक, कान्तिलोकपथ, उद्योग बाणिज्य संघ भएर रोयल प्यालेसमा गएर समापन हुनेछ।
पदयात्रामा कोको सहभागी हुने छन?
पदयात्रामा स्थानीय ब्यवसायी, महासंघका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, देशभरका ब्यवसायीहरुको उपस्थिति हुनेछ। यस्तै विभिन्न २५ वटा वस्तुगत संघ संस्थाको पनि प्रतिनिधित्व रहनेछ।



