काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
मंगलबार राती १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो।
आयल निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा कायम भएको छ।
यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ र डिजेलको मूल्य १५० रुपैयाँ कायम भएको छ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १५१ रुपैयाँ कायम भएको आयल निगमले जनाएको छ।



