काठमाडौं। २३ दिनदेखि देशभरका शिक्षकहरु विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा छन। चिकित्सकहरू पनि २८ दिनदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन। नत सरकारले शिक्षकका माग सम्बोधन गरेको छ नत डाक्टरको। बरु आन्दोलनको स्वरुप बदलिंदो र बढ्दो छ।
शिक्षकको आन्दोलनलाई निष्कर्षमा पुर्याउन नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीकै असहयोग पाएपछि बरु शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन।
डाक्टरको आन्दोलनले स्वास्थ्यमन्त्री पनि दबाबमा छन। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सकले उठाएको माग सम्बोधनमा सकारात्मक रहेको भन्दै धारणा दिइरहेका छन। तर आन्दोलन भने मत्थर हुने छाँटमा छैन। बरु चर्कने अवस्थामा अघि बढेको छ।
नेपाल चिकित्सक संघले चैत ३१ गते चिकित्सकहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो। तर संघले उठाएका माग र दिएको अल्टिमेटम सकिंदा पनि सरकार सम्बोधन गर्न तयार देखिएको छैन।
सरकारको बेवास्ता पछि संघले बैशाख १० गते विज्ञप्ति जारी गर्दै पुन: २४ घण्टे अल्टिमेटम दिएर माग सम्बोधन नभए बैशाख १२ गतेबाट देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएको छ।
विज्ञप्तिमार्फत संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग राखेको छ। सो मागसहित चिकित्सकहरु २८ दिनदेखि आन्दोलनमा छन।
चिकित्सा शिक्षा आयोगको माघ २५ गते बसेको १६औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको सरह तलब सुविधा दिनसमेत निर्देशन दिएको थियो। तर निजी मेडिकल कलेजले टेरेका छैनन।
सरकार भने म्याचिङ प्रक्रियामा निजी मेडिकल कलेजलाई नै पक्षपोषण हुने गरेर अघि बढिरहेको चिकित्सकहरुको आरोप छ। सरकारले आफ्ना माग सम्बोधन नगरे देखाइदिने चेतावनी डाक्टरहरुले दिएका छन। उनीहरूले माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका हुन।
चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले सरकारले नीजि मेडिकल कलेजलाई कारबाही गर्न नसक्नु दु:खद भएको बताए।
`सरकार निजी मेडिकल कलेजलाई कारबाही गर्नुको साटो जोगाउन लागेको देखियो, सरकारले तोकेको निर्वाह भत्ता दिन्नौ भन्नु अटेरी हो, सरकारको निर्णय नमान्नेलाई सरकारले कारबाही गर्न किन सक्दैन?, निजी मेडिकल कलेजहरूले विद्यार्थीलाई बन्धक बनाउने सरकार हेरेर बस्ने?, यो गैरजिम्मेवारी हो।´ संघका अध्यक्ष डा कार्कीले भने।
चिकित्सक संघले विज्ञप्तिमार्फत आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ। संघले काठमाडौं केन्द्रित आन्दोलनमा आउन देशभरका चिकित्सकहरुलाई आग्रहसमेत गरेको छ।
संघले बिहिबार बिहान १० देखि १२ बजेसम्म देशभरका चिकित्सकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका चिकित्सकलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्ने आवह्वानसमेत गरेको छ।
'देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं।' संघका अध्यक्ष कार्कीले भने।
२४ घण्टाभित्र माग सम्बोधन नभएमा बैशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी संघका अध्यक्ष कार्कीले दिएका छन।
'चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु बुद्धिजिवी पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ।' अध्यक्ष डा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएशन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले भने बुधबार लाजिम्पाटमा पत्रकार सम्मेलन गर्दै स्नाकोत्तर तह पीजीका विद्यार्थीहरुलाई चिकित्सा शिक्षा आयोगले तोके अनुसारको ४८ हजार ७३७ रुपैयाँ दिन नसक्ने बताएको छ।



