काठमाडौं। इजरायल र लेबनानबिच द्वन्द्व चर्किएपछि लेबनानमा शान्ति स्थापनार्थ खटिएका ८५० नेपाली शान्ति सैनिकलाई बंकरमा राखिएको छ।
इजरायल र लेबनानबिचको द्वन्द्व बढ्दा इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन चेतावनी दिएका थिए। तर राष्ट्रसंघले भने शान्ति स्थापनाका खटिएको शान्ति सैनिकलाई फिर्ता नगरिने जवाफ दिएको थियो।
शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकलाई राष्ट्रसंघले लेवल थ्री प्रोटोकलमा बस्न आग्रह गरेपछि मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिकलाई बंकरमा सारिएको सैनिक उच्च स्रोतले जानकारी दिएको हो।
संयुक्त राष्ट्र संघले शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकलाई लेबनानमा सेक्युरिटी लेभल थ्री लागू गराइसकेको छ। यो शान्ति सैनिकमा खटिएका सेनाहरुमा लागि छुट्टै किसिमको प्रोटोकल हो। यो प्रोटोकल अनुसार सेना बाहिर निस्किन पाउँदैनन्। सोही प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक बंकरमा सरेको सैनिक उच्च स्रोतले जनाएको हो।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै १५ असोजबाट स्थल कारबाही समेत सुरु गरिसकेको छ। । तर नेपाली शान्ति सैनिक रहेका क्षेत्रमा भने अहिलेसम्म आक्रमण भएको छैन।
नेपाली सेनाले शान्ति स्थापनार्थ लेबनानमा तैनाथ रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको बताएको छ। सैनिक प्रवक्ता गौरवकुमार केसीले लेबनानमा शान्ति मिसनमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएका हुन्। उनले त्यहाँ रहेका फौजसँग नियमित सम्पर्क भइरहेको र अवस्थाबारे जानकारी लिइरहेकोसमेत स्पष्ट पारे। लेबनानमा ८७७ नेपाली शान्ति सैनिक कार्यरत छन्।
‘लेबनानमा शान्ति स्थापनार्थ खटिएका सम्पूण नेपाली शान्ति सैनिक सुरक्षित छन्, त्यहाँ खटिएका फौजसँग नियमित सम्पर्क भइरहेको छ,’ सैनिक प्रवक्ता केसीले भने।
प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधारमा संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निणर्य र निर्देशन अनुसार नेपाली शान्ति सैनिक खटाइने बताए।
‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ’, सैनिक प्रवक्ता केसीले भने।
लेबनानमा सन् १९७८ देखि शान्ति स्थापनार्थ नेपाली सेना खटिँदै आएको छ ।



