काठमाडौं। नेपालसहित ३४ देशले लेबनानमा शान्ति सैनिकमाथि इजरायली सेनाको आक्रमण भएको घटनाको निन्दा गरेका छन्।
परराष्ट्र मन्त्रालयले मंगलबार आक्रमणको निन्दा गर्दै त्यस्ता आक्रमण तुरुन्त रोक्नु पर्ने र घटनाको गहन अध्ययन हुनु पर्ने बताएको हो। मन्त्रालयले संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न र घटनाको जाँच गर्न पनि भनेको छ।
सामाजिक सन्जाल एक्समार्फत मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ, साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ, यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ।’
संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो। सोमबार इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गरेका थिए।
यस्तै, लेबनानमा शान्ति सैनिक पठाउने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै शान्ती सैनिकमाथि भएको आक्रमणको विरोध गरेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्ने देशमा नेपाल, आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्यान्ड, इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरा लियोन, स्पेन, श्रीलंका, टर्किए, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जानिया छन्।
विज्ञप्तिमा ३४ देशले द्वन्द्वरत पक्षहरूलाई यूनिफिलको उपस्थितिको सम्मान गर्न आग्रह गरेका छन्।



