बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

ठोरीमा खुल्यो इकोलक्स रिट्रीट, भारतीय पर्यटकका लागि मुक्तिनाथ र पशुपतिनाथको प्याकेज

ठोरीमा खुल्यो इकोलक्स रिट्रीट, भारतीय पर्यटकका लागि मुक्तिनाथ र पशुपतिनाथको प्याकेज

images
२०८२ पौष १५ गते, मंगलवार
२०८२ पौष १५ गते, मंगलवार
  • ठोरी। पर्साको ठोरीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ। ठोरी गाउँपालिका २ गोले डाँडा (रेड हिल) मा भारतीय तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै `ठोरी इकोलक्स रिट्रीट´ नामको रिसोर्ट संचालनमा आएको हो।

    images

    `प्रकृति र विलासिताको संगम ठोरी इकोलक्स रिट्रीट, हिमालयको स्वाद´ थिम सहित संचालनमा आएको रिसोर्टमा युरोपियन डिजाइनका सुविधा सम्पन्न आवासीय भिल्लाहरु उपलब्ध छन्। रिसोर्टमा हिमालयको स्वादलाई मुख्य प्राथमिकता दिइएको छ।

    images

    ठोरी इकोलक्स रिट्रीटका अध्यक्ष छतेन्द्र आचार्यले पाहुनालाई ठोरीमा नै हिमालयको स्वाद उपलब्ध गराइने सोच सहित रिसोर्ट संचालनमा ल्याइएको बताए।

    `ठोरीमा आउने पाहुनालाई हिमालयको काखमा उब्जाउ भएका उत्पादनहरुका स्वाद चखाउने हाम्रो लक्ष्य हो, हामीले मुस्ताङको आलु, दाल, सिमि, टिमुर, लसुन ठोरीमा ल्याएका छौं, रसुवाको लेकमा पालिएका चौंरीको घ्यु ठोरीमा हिमालय खाना सेटमा हामीले उपलब्ध गराएका छौं।´ अध्यक्ष आचार्यले भने।

    यसैगरी कास्कीको `जेठो बुढो´को धानको चामल `हिमालय सेट´ मा ठोरीमा उपलब्ध गराइएको आचार्यले जानकारी दिए। 

    स्थानीय छतेन्द्र आचार्य, धर्म बिष्ट, ऋषि खनाल, महेश गौतम र विकल आचार्य गरी पाँच युवाको लगानी र पहलमा संचालनमा आएको यो रिसोर्ट कुल डेढ बिगाहा क्षेत्रफलमा फैलिएको छ।

    अंग्रेजी नयाँ वर्षमा प्याकेज 

    ठोरी इकोलक्स रिट्रीटले अंग्रेजी नयाँ वर्षका लागि लाइभ म्युजिकसहितको प्याकेज बनाएको छ। भोलि बुधबार सन् २०२५ को अन्तिम साँझ अर्थात न्यु इयर इभका लागि `स्क्रेमिङ सौल´ ब्यान्डका साथ लाइभ सांगीतिक साँझ आयोजना हुने भएको हो। यस्तै १ जनवरी २०२६ का (नयाँ वर्ष)का दिन समेत लाइभ प्रस्तुति हुनेछ। लाइभ  कार्यक्रममा स्न्याक्स र ड्रीन्क्स एक हजार रुपैयाँको टिकटसँगै प्याकेजमा समावेश छ।

    छानेरै खाना पाइन्छ कालिज

    ठोरी इकोलक्स रिट्रीटमा कालिज पालनका लागि फार्म बनाइएको छ। यो रिसोर्टमा आउने पाहुनाले आफुले इच्छाएको कालिजलाई आफ्नै अगाडी विभिन्न परिकारका रुपमा चाख्न पाउने छन्। पाहुनाका लागि एउटा कालिज चार हजारमा उपलब्ध हुनेछ। ग्राहकको इच्छा अनुसार कालिजलाई विभिन्न परिकारमा उपलब्ध गराइने छ।  ठोरीमा नै होटल तथा रिसोर्टमा कालिज पाइने यो रिसोर्ट पहिलो भएको संचालक धर्म बिष्टको दाबी छ।

    यसैगरी आफ्नै फार्ममा उत्पादन भएका लोकल कुखुराको परिकार पनि यहाँ उपलब्ध हुने बिष्ट बताउँछन्। स्थानीय कृषकले उत्पादन गरेका लोकल कुखुरा ग्राहकले जिउँदै किन्न चाहेमासमेत उपलब्ध हुने उनी बताउँछन्। तर कालिज भने पकाएका परिकार मात्र उपलब्ध हुनेछ।

    मुस्ताङको च्याग्राको सुकुटी

    ठोरी इकोलक्स रिट्रीटका संचालक बिष्टका अनुसार यो रिसोर्टमा आउने पाहुनालाई मुस्ताङको च्याग्राको सुकुटी समेत उपलब्ध हुनेछ। ग्राहकले इच्छाएमा यो परिकार उपलब्ध गराइने छ।

    ठोरीमै पहिलोपटक कफिको स्वाद

    यो रिसोर्टमा कफि पारखीहरुका लागि विभिन्न प्रकारका कफिको स्वाद उपलब्ध गराइएको छ। ठोरीमा नै पहिलोपटक कफि मेसिन प्रयोग गरिएकाले यो रिसोर्टमा कफिका विभिन्न स्वाद चाख्न पाइन्छ। यहाँ कफि बिन्सबाट बन्ने एसप्रेसो, अमेरिकानो, लाते लगायतका विभिन्न स्वाद उपलब्ध हुनेछन। यो रिसोर्टमा कफिका लागि उच्च प्रविधिको मेसिन भित्राइएको छ।

    भारतीय र नेपाली खाना एकै ठाउँ

    यो रिसोर्टमा भारतीय पर्यटकका लागि स्वाद अनुसारका भारतीय परिकारहरु पनि उपलब्ध हुनेछन। भारतीय खाना सेट, नेपाली हिमालय खाना सेट, नेपाली स्थानीय खाना सेट यो रिसोर्टमा उपलब्ध छ्न। स्थानीय स्तरमा उत्पादन भएका तरकारीसहितका उत्पादन यहाँको खानाका लागि प्रयोग हुने बिष्ट बताउँछन्।

    बस्नका लागि रोजाइ अनुसारका भिल्ला र टेन्ट

    ठोरी इकोलक्स रिट्रीटमा आउने पाहुनाले आवासका लागि सुविधा सम्पन्न भिल्लाहरु रोज्न सक्नेछन्। एउटै भिल्लामा एउटा परिवार बस्न मिल्नेदेखि कपल भिल्ला तथा रुमहरु रिसोर्टमा उपलब्ध हुने बताइएको छ। युरोपियन डिजाइनमा बनेका भिल्ला तथा साधारण रुमहरु ग्राहकका लागि उपलब्ध हुने छन्। 

    यसैगरी टेन्टमा बस्न चाहने पाहुनाहरुका लागि टेन्टसमेत उपलब्ध हुनेछ। त्यस्ता पाहुनाका लागि सिंगल, डबल तथा ग्रुप टेन्ट उपलब्ध गराइने अध्यक्ष आचार्यले जानकारी दिए।

    ठोरीबाटै मुक्तिनाथ र पशुपतिनाथको प्याकेज 

    ठोरी इकोलक्स रिट्रीटले आफ्नो औपचारिक शुभारम्भसँगै भारतीय तथा नेपाली पर्यटकका लागि मुक्तिनाथ र पशुपतिनाथको भ्रमण प्याकेज पनि तयार गरेको छ। भारतबाट ठोरी आएका पर्यटकहरुलाई चितवन, पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ पुर्याइने अर्का संचालक महेश गौतम बताउँछन्।

    यसैगरी काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर दर्शन गर्न चाहने भारतीय पर्यटकहरुका लागिसमेत प्याकेज तयार गरिएको गौतम बताउँछन्। पशुपतिनाथको प्याकेजमा हेटौंडा हुँदै काठमाडौंका दक्षिणकाली, स्वयम्भू, हनुमानढोका दरवार संग्राहलय, भक्तपुर दरवार स्क्वायर, पाटन दरवार स्क्वायरसहित पशुपतिनाथ, काल भैरव र संकटा मन्दिरको रुट समावेश हुनेछ।

    नेपाली पर्यटकका लागि रेल प्याकेज 

    यसैगरी ठोरी इकोलक्स रिट्रीटले आफ्ना आन्तरिक पर्यटकका लागि रेल प्याकेज पनि तयार गरेको छ। ठोरी आउने नेपाली पर्यटकका लागि भारतको नरकटियागंज हुँदै पटना, बनारस, अयोध्या, लखनउ, गोवा, आगरा, बैष्णवदेवी, दिल्लीसम्मका रेल प्याकेज तयार गरिएको छ। यी विभिन्न प्याकेजमा जान चाहने पर्यटकलाई रेल तथा कार मार्फत विभिन्न स्थानको भ्रमण गराइने ठोरी इकोलक्स रिट्रीटले जनाएको छ। 

    चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी

    ठोरी इकोलक्स रिट्रीटमा आउने पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगल सफारी प्याकेज पनि तयार गरिएको छ।

    चितवन राष्ट्रिय निकुञ्जको प्याकेजमा माडी हुँदै कसरा र सौराहासम्मको प्याकेज तथा पर्सा राष्ट्रिय निकुञ्जको प्याकेजमा इच्छानगर हुँदै शिकारीवाससम्मको जंगल सफारी प्याकेज समावेश छ।

    यसैगरी सिद्धेश्वर महादेव दर्शन, बनशक्ति माईको मन्दिर दर्शन, सीता गुफा भ्रमण, ह्वाइट हिल, बाघमोर्चा मन्दिरको प्याकेजसमेत ग्राहकको इच्छा अनुसार तय हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend