रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकाको एक वडामा बालबालिकालाई दिन तयार पारिएको जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सिन म्याद नाघेको भेटिएको छ।
चन्द्रपुर नगरपालिकाको वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा बालबालिकालाई दिन तयार पारिएको जापनिज इन्सेफ्लाइटिसको भ्याक्सिन म्याद नाघेको भेटिएको हो।
सो भ्याक्सिन कार्तिक महिना १७, १८ र १९ गते १२ महिनादेखी २३ महिना भित्रका बालबालिकाहरुलाई दिनका लागि तयार पारिएको थियो।
चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले चन्द्रपुर अस्पतालबाट ल्याइएको भ्याक्सिन म्याद गुज्रिएको भेटिएको र खो दिन रोकिएको बताए। उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गर्दै सो विषयमा छानबिन हुने जानकारी दिए।
‘यो गर्नै नहुने लापरबाही हो, कसरी त्यस्तो भएको हो भन्ने बारेमा सो विषयमा छानबिन हुन्छ। अस्पतालमा म्याद भएको भ्याक्सीन हुँदा पनि सकिएको ल्याउनु कर्मचारीलको गल्ती भएको उनको जिकिर छ।’
जापनिज इन्सेफ्लाइटिसको भ्याक्सीनको म्याद अंग्रेजी मिति अनुसार सन २०२५ नोभेम्बर १ तारिखमा सकिएको छ।
सो वडाका वडाअध्यक्ष नवराज देबकोटाले भ्याक्सिनको म्याद सकिएको चार दिन पछि दिन लागिएको भन्दै यसले बालबालिकाहरु गम्भीर असर पार्ने बताए। उनले सो बारेमा कार्यपालिकाको बैठक राखेर दोषि कर्मचारीलाई कारवाही गरिने बताए।
चन्द्रपुर , बृन्दावन, गरुडा र गुजरा नगरपालिका भित्रका बालबालिकाहरु खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले जानकारी दिए।
उनका अनुसार प्रदेश कार्यालयबाट हालै आएको यो भ्याक्सिनको मिति २०२६ अप्रिलसम्म म्याद छ। तर चन्द्रपुर नगरपालिका ९ मा भेटिएको म्याद नाघेको भ्याक्सीनको विषय गम्भीर रहेको उनको भनाइ छ। यस विषयमा आफ्नो ध्यानाकर्षण भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्लेले बताए।



