काठमाडौं। आन्दोलनरत नर्सहरुले उठाएका मागबारे सरकार, आन्दोलनरत पक्ष र निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन र निजी अस्पताल प्रतिनिधिहरु पनि आज पनि वार्ता जारी छ।
रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहारामा बसेको स्वास्थ्य मन्त्रालयमा आज बिहानैदेखि वार्ता जारी छ। तर निष्कर्षमा भने पुग्न सकेको छैन।
वार्ताकै क्रममा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन र निजी अस्पताल प्रतिनिधिहरुलाई अलि कडै चेतावनी दिइन्। उनले जसरी हुन्छ सरकारले नर्सहरुका लागि तोकेको तलब कार्यान्वयन गराएरै छाड्ने बताइन्। त्यतिमात्र होइन उनले सरकार राजनीतिक दलको होइन भन्दै जेन-जी आन्दोलबाट बनेकाले सरकारले गरेको निर्णय नमाने देखाइदिने चेतावनी पनि दिइन्।
वार्तामा सहभागी एक नीजि मेडिकल कलेजका प्रतिनिधिका अनुसार मन्त्रीको सो चेतावनीपछि वार्ता सहमतिमा पुगेन। र सबैजना उठेर हिडें। अवस्था बिग्रेपछि मन्त्रीले अब आफू वार्तामा नबस्ने भन्दै सचिवसँग छलफल गर्नु भनेर हिडिन।
बिहीबार पनि यस्तै यस्तै गरेर वार्ता बिना निष्कर्ष टुंगियो। तर पनि सहमति नजिक नजिक पुगेको भनियो। त्यो दिन पनि निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन र निजी अस्पतालका प्रतिनिधिहरुले सरकारको निर्णय अहिलेनै पालना गर्न नसकिने अवस्था रहेको भन्दै तर्किए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अझै पनि वार्ता जारी रहेको बताए। `आजको वार्ताबाट सबै जना उठेर हिडेको होइन?´ भन्ने एक्सरे नेपालको प्रश्नमा उनले भने, `बिहानैबाट वार्तामा बसेको भोक लाग्यो भनेर सबैजना उठेर निस्किनु भयो, आजै फेरि वार्ता हुन्छ।´
आजको बैठकमा आन्दोलनरत पक्ष र सरोकारवाला पक्षबिच सहमति गर्ने गरेर शुक्रबार साँझ नै केही मोडालिटी बनेको तर शनिबार भएको छलफलमा आन्दोलनरत पक्षबाट फेरि बखेडा झिक्ने काम भएको स्रोतले बतायो।
`हिजो मन्त्रीज्युसँगको वार्तापछि सचिवज्युसहित बसेर एउटा मोडालिटी बनेको थियो, त्यसमा सबै सहमत हुनुहुन्थ्यो तर आज फेरि बस्दा आन्दोलनरत पक्षनै फेरि सहमत भएन र उठेर हिडेको अवस्था छ।´ स्वास्थ्य मन्त्रालय स्रोतले एक्सरे नेपालसँग भन्यो।
सहमतिका लागि भन्दै अघि सारिएका प्रस्तावमा आन्दोलनरत नर्सका पक्षबाट वार्तामा सहभागी ज्योति रानाभाटले असहमति जनाएकी हुन्। वार्तास्थलबाट उनी हिंडेपछि अहिले वार्ता स्थगित भएको हो।
निर्णायक भनिएको वार्तामा अहिले नै सरकारले तोकेको पारिश्रमिक एकैपटक बढाउन नसके पनि निश्चित रकम बढाउने र कार्यविधि बनाएर समय तोकेरै सरकारले तोकेको पारिश्रमिकसम्म पुग्ने गरि मोडालिटी तयार भएको थियो।
यसरी अघि बढ्दा सरकारले निर्धारण गरेको पारिश्रमिकमा मेडिकल कलेजहरुलाई शतप्रतिशत र निजी अस्पतालहरुलाई ८० प्रतिशतसम्म तत्काल कार्यान्वयन गराउने मोडालिटी तयारी भएको थियो।
तर आजको वार्ताका क्रममा सोही प्रस्तावमा आन्दोलनरत पक्षले असहमति जनाएको हो। उनीहरुले शतप्रतिशत तलब तत्काल कायम हुनुपर्ने अडान राखेका हुन्।
निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफुहरु वार्ताकै क्रममा रहेको बताए। उनले आफूहरु मन्त्री र सचिवहरुसँग छलफलमा रहेको जानकारी दिए।
‘हामी वार्ताकै क्रममा छौं, अहिले ब्रेक भएको छ, आन्दोलरत पक्षसँगै छौ वार्ता चलिनै रहेको छ, उहाँहरूकाकुरा सुन्यौं, फेरि अब छलफल हुन्छ।´



