काठमाडौं। जेन-जी प्रदर्शनका क्रममा घाइते भएका मध्ये १४ जनाको मृत्युु भएको छ।
सोमबार बिहानैदेखि सुरु भएको प्रदर्शनका क्रममा घाइते भएका अन्दाजी ३०० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंको ट्रमा सेन्टरमा ६, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा २ र सिनामंगलस्थित केएमसी अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको हो।
ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले अस्पतालमा उपचारका लागि ल्याइएका मध्ये ६ जनाको मृत्युु भएको जानकारी दिए। अन्य ४ जनाको अवस्था गम्भीर छ। ट्रमामा ४६ जना घाइतेको उपचार जारी छ।
यस्तै बानेश्वरस्थित एभरेस्ट अस्पतालमा ३ जनाको मृत्युु भएको छ। सो अस्पतालमा ३४ जना घाइतेको उपचार भइरहेको छ।
सिभिल अस्पतालमा पनि २ जनाको मृत्यु भएको कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए। सो अस्पतालमा १०० जनाको उपचार भइरहेको छ।
सो अस्पतालमा आकस्मिक कक्षमा घाइतेलाई भुइँमा नै राखेर उपचार गरिएको छ।
यसैगरी सिनामंगलस्थित केएमसी अस्पतालमा पनि २ जना घाइतेको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। सो अस्पतालमा ३१ जनाको उपचार जारी छ भबे ८ जनाको अवस्था गम्भीर छ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्युु भएको छ। सो अस्पतालमा १८ जना घाइतेको उपचार भइरहेको छ भबे ६ जनाको अवस्था गम्भीर रहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले बताए।
काठमाडौंका अन्य केही अस्पतालहरुमा पनि घाइतेहरुलाई अस्पताल लगिएको छ। तर यकिन तथ्यांक आउन बाँकी छ। प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरु पनि घाइते भएका छन्।



