सर्लाही। मकवानपुरको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टि गरिएको छ।
उनीहरूको शनिबार सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो। सो दुर्घटनामा मृत्युु हुने १२ जना सुन्दरपुरकै थिए। अर्का एकजनाको भने सदरमुकाम मलङ्गवा-४ मा बसोबास थियो। ती ब्यक्तिको शव बसोबास रहेकै स्थान मलंगवा लगिएको थियो भने अन्त्येष्टि पनि मलंगवामानै गरिएको छ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको शव शुक्रबार हेटौंडा अस्पतालबाट सर्लाही लगिएको थियो। शवलाई सर्लाही पुर्याएलगत्तै स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए।
सो क्रममा आफन्तजन, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको थियो।
उक्त दुर्घटनामा सुन्दरपुरका अवधेश यादवले आफ्ना गर्भवती श्रीमतीसहित परिवारका ६ जना गुमाएका थिए। उनले सबैलाई दागबत्ती दिए।
दाहसंस्कारमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा स्थानीयको समेत ठूलो संख्यामा सहभागीता रहेको थियो।



