काठमाडौँ। ग्राण्डी अस्पतालमा दश वर्षको अवधिमा १७२ जना विरामीको सफल रुपमा मिर्गौलाको प्रत्यारोपण गरिएको छ।
अस्पतालले २० औँ विश्व मिगौला दिवसको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो।
नेपालमा सन् २००८ मा सफल मिर्गौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले ग्राण्डीेले मिर्गौला रोगको उपचारलाई उच्च प्राथमिकता दिएको बताए।
“नेपालका विरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस् भनेर ग्राण्डीले दश वर्ष पहिले मिर्गौला प्रत्यारोपणको काम सुरु गरेको थियो,” उनले भने।
अस्पतालकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. दिव्यासिंह शाहले मिर्गौला रोग कुनैपनि उमेर समूहका व्यक्तिलाई लाग्ने भएकाले बेलाबेलामा चेकजाँच गर्नु आवश्यक रहेको बताइन्।
उनले ब्लड प्रेसर, सुगर समयमा चेकजाँच गर्न र धुम्रपान, मद्यपानलगायतका सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिन्।
ग्राण्डीका वरिष्ठ युरोलोजीष्ट तथा ट्रान्सप्लान्ट सर्जन प्राडा. प्रेमराज ज्ञवालीले नेपाल सरकारले मिर्गौला रोगीका लागि वर्षेनी ठूलो रकम खर्च गर्दै आएको बताए। उनले वर्षेनी सरकारले डायलोसिसका लागि रु एक अर्ब २७ करोड खर्च गर्दै आएको उल्लेख ग्रे।
अस्पतालका नेफ्रोलोजिष्ट डा. विष्णु पहारी, डा. शतिशचन्द्र यादवलगायतले मिर्गौला रोग लाग्न नदिन जनचेतना फैलाउन जरुरी रहेको बताएका थिए।
कार्यक्रममा ग्राण्डी अस्पतालमा मृगौला प्रत्यारोपण गरेका विरामी र डायलाइसिस गराइरहेका विरामीले आ-आफ्नो अनुभव सुनाएका थिए।
उक्त कार्यक्रममा मृगौला विरामी भएर अस्पतालमा उपचाररत विरामीलाई सम्मान समेत गरिएको थियो।


